नेपालको अर्थतन्त्रबाट पैसा हराएकै हो त ?

यस प्रश्नको उत्तरको लागि सर्वप्रथम पैसा कसरी बजारमा निष्काशित हुन्छ भनेर बुझ्न जरुरी छ । नेपालमा बिना कुनै सुरक्षण पैसा बजारमा निष्काशन गर्न मिल्दैन । नेपाल राष्ट्र बैंक ऐन २०५८ दफा ५२ को अनुसार सुरक्षण राखेको सम्पतिको कम्तीमा पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र, र विदेशी विनिमेय अधिकारपत्रमध्ये कुनै एक वा एक भन्दा बढी राख्नुपर्ने व्यवस्था छ । हामीले बुझ्नुपर्ने अर्को कुरा भनेको नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेको पैसा मुद्रा नभई कागज मात्रको रूपमा रहेको हुन्छ । अर्थात्, ढुकुटीको पैसा बजारमा नआउँदैनसम्म मुद्रा हुदैन । तसर्थ, विदेशी मुद्रा सञ्चिति बढ्दा चलनचल्तीमा रहेको मुद्रा बढ्ने र विदेशी मुद्रा सञ्चिति घट्दा चलनचल्तीमा रहेको मुद्रा घट्ने गर्दछ । 

उदाहरणको लागि नेपाली अर्थतन्त्रमा हाल रु ६ खर्ब ७० अर्ब बराबरको मुद्रा चलनचल्तीमा रहेको छ । यदि अमेरिकी डलर १ अर्ब विप्रेषण नेपाली अर्थतन्त्रमा भित्रियो भने रु १३० अर्ब बराबरको नेपाली रुपैया अर्थतन्त्रमा निष्काशित हुने गर्दछ । यसको विपरीत आयातले विदेशी सञ्चितिलाई खुम्च्याउने गर्दछ । अमेरिकी डलर १ अर्ब बराबरको आयात हुँदा विदेशी सञ्चिति  पनि त्यही अनुपातमा खुम्चिन जान्छ र अर्थतन्त्रमा रहेको रु १३० अर्ब बराबरको चलनचल्तीमा रहेको मुद्रा पुनः नेपाल राष्ट्र बैंकको ढुकुटीमा जम्मा हुन पुग्छ । तसर्थ, नेपालमा रहेको चलनचल्तीमा रहेको मुद्रामा गिरावट आउँछ । 

नेपाली अर्थतन्त्रमा केही वर्षयता विप्रेषणबाट आर्जित विदेशी मुद्रा भन्दा पैठारीका लागि भुक्तानी गरिने विदेशी मुद्रा अधिक हुँदै भएको देखिन्छ । जसका कारण विदेशी मुद्रा सञ्चितिमा  नकारात्मक असर परेको देखिन्छ । विदेशी मुद्रा सञ्चिति घटेसँगै चलनचल्तीमा रहेको मुद्रा पनि घट्दै गएको हो । यद्यपि, हाल आयात निरुत्साहनको लागि अपनाइएकाे नीतिकाे कारण विदेशी मुद्रा सञ्चितिमा सुधार आई चलनचल्तीमा रहेको मुद्रा समेत बढेको देखिन्छ । 

निष्कर्ष, नेपाली अर्थतन्त्रबाट पैसा हराएको वा चोरी भएको नभई अत्यधिक आयात भएको कारण मौद्रिक आधार नै खुम्चिन जादाँ चलनचल्तीमा रहेकाे मुद्रा घट्न गएको र यसका कारण  बृहत मुद्रा प्रदाय समेत घट्न गएको हो ।

नोट: एक अमेरिकी डलर बराबर रु १३० मानिएको ।

Post a Comment

Previous Post Next Post