ब्याजदरलाई अर्थतन्त्रको एक मुख्य सूचकको रूपमा लिने गरिन्छ। कुनै पनि वस्तुको लागत (cost) लाई हामीले त्यस वस्तुको मूल्य (price) को आधारमा गणना गर्ने गर्छौ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप संकलन गर्दा निक्षेपकर्तालाई निक्षेपको निश्चित प्रतिशत ब्याज प्रदान गर्दछन् र ब्याज नै निक्षेपको लागत हो । सोझो अर्थमा, ब्याज नै निक्षेप संकलन बापत निक्षेपकर्तालाई तिरिने मूल्य (price) हो । त्यसैगरी, निक्षेपको ब्याजदरमा सञ्चालन लागत, प्रशासनिक लागत लगायतका अन्य लगायतकाे गणना गरी बैंक तथा वित्तीय संस्थाले कर्जामा लगाइने ब्याजदर निर्धारण गर्दछ।
बजार मूल्य (price) माग (demand) र आपूर्ति (supply) को आधारमा निर्धारण हुने गर्छ। कर्जाको माग (demand for credit) र निक्षेप संकलन (deposit collection) ले बजारमा तरलताको स्थितिलाई प्रभाव पर्ने गर्छ। कर्जा प्रवाहभन्दा निक्षेप संकलन अधिक भएको बखत तरलतामा दबाब पर्दैन। फलस्वरूप, निक्षेपको ब्याजदर घट्न जान्छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने गर्दछ। ठीक यसको विपरीत, कर्जा प्रवाहभन्दा निक्षेप संकलन न्यून भएको बखत तरलतामा दबाब पर्छ। फलस्वरूप, निक्षेपको ब्याजदर बढ्न जान्छ । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने गर्दछ।
कोविड-१९ को समयमा आर्थिक गतिविधि सुस्ताएकोले कर्जाको माग न्यून रहन गएकोले बजारमा अधिक तरलता (excess liquidity) काे अवस्था सृजना भयो। अन्ततोगत्वा, कर्जाको ब्याजदरमा अत्यधिक गिरावट आएको थियो । त्यसैगरी, कोविड १९ को रोकथाम पश्चात जब आर्थिक गतिविधि पुनः सुचुरु हुन थाल्यो तब एक्कासी बढेको माग (pent up demand) काे कारण कर्जाको माग तथा प्रवाहमा उल्लेखनीय वृद्धि भई तरलतामा अत्यधिक दबाव परेको थियो । फलस्वरूप, निक्षेप तथा कर्जाकाे ब्याजदर अकासिन पुग्यो।
हामीले माथिको उदाहरणलाई अर्को दृष्टिकोणबाट पनि विश्लेषण गर्न सकिन्छ । यसको लागि मुद्रास्फीति (inflation) र ब्याजदर बीचको सम्बन्ध बुझ्नु पर्ने हुन्छ । मुद्रास्फीति बढेसँगै निक्षेपकर्ताले बढी ब्याजको अपेक्षा गर्ने हुँदा निक्षेपमा प्रदान गरिने ब्याजदर पनि बढ्ने गर्छ । तसर्थ, मागभन्दा आपूर्ति कम भएको अवस्थामा मुद्रास्फीति बढ्ने, मुद्रास्फीति बढेसँगै निक्षेपको ब्याजदर बढ्ने र अन्त्यमा कर्जाको ब्याजदर बढ्न जान्छ । कर्जाको ब्याजदर बढेसँगै निजी लगानी (private investment) मा कमी आउँछ जसको कारण माग घट्न गई मुद्रास्फीतिमा परेको दबाब घट्न जान्छ । फलस्वरूप, ब्याजदर घट्न थाल्छ । अर्थतन्त्रमा यो चक्र निरन्तर चलिरहेको हुन्छ । त्यसले, ब्याजदरमा आउने उतरचढाप अर्थतन्त्रमा चलिरहने एक सामान्य प्रक्रिया हो ।
यद्यपि, मुद्रास्फीति र ब्याजदरको चक्र सदैव स्वचालित (automatic) रहन्छ भन्न सकिन्न। अर्थतन्त्रमा कहिलेकाहीं अकल्पनीय घटनाहरू (unforeseen incidents) ले ठुलो प्रभाव पर्ने गर्छ। उदाहरणको लागि कोभिड १९ वा रूस-युक्रेन युद्ध जुन कसैले पनि पूर्वानुमान गरेका घटना होइनन् र यी घटनाहरुले विश्व अर्थतन्त्रमा ठुलो प्रभाव पारेका छन् । विश्वका अधिकांश मुलुकहरूमा अत्यधिक मुद्रास्फीतिकाे कारण केन्द्रीय बैंकले बैंक दर (bank rate) र नीतिगत दर (policy rate) बढाएर मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।
Post a Comment